मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, कानुनमन्त्री गौतम सातौँबाट तेस्रो स्थानमा

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, मंसिर १० गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रममा यो हेरफेर गरिएको हो। सत्र सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाह आफैँले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

नयाँ मर्यादाक्रमअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो, परराष्ट्रमन्त्री शिशिर खनाल चौथो र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ पाँचौँ स्थानमा छन्। यसअघि सातौँ स्थानमा रहेकी गौतमको वरीयता उकासिएको छ। त्यसैगरी गृहमन्त्री सुधन गुरुङ छैटौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ वरीयतामा छन्। मन्त्रिपरिषद्का अन्य सदस्यहरूमा सीता बादी (महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा), प्रतिभा रावल (भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन), निशा मेहता (स्वास्थ्य तथा खाद्य स्वच्छता), सस्मित पोखरेल (शिक्षा तथा खेलकुद), खडक राज पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), डा. विक्रम तिमिल्सिना (सूचना तथा सञ्चार), गीता चौधरी (कृषि, वन तथा पर्यावरण), दिपक कुमार साह (उद्योग, वाणिज्य तथा आपूर्ति) र रामजी यादव (युवा, श्रम तथा रोजगार) रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?