अयोध्या–जनकपुर जोडियो रेलमार्गले, ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुग्यो
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ८ गते । त्रेतायुगीन राम–जानकीको सम्बन्धलाई आधुनिक रेलमार्गले जोडेको छ । भारतको अयोध्याधामबाट नेपालको जनकपुरधामसम्म सञ्चालन हुने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ । सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका थिए । उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम पुगेको हो । रेलको आगमनसँगै जनकपुरधाम रेल्वे स्टेसनमा सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी र स्वस्तिवाचनसहित भव्य स्वागत गरिएको थियो । यात्रु तथा भारतीय प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय श्रममन्त्री रामजी यादवसहित स्थानीय जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।
करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेल भारतको उत्तर प्रदेश र बिहार हुँदै जनकपुरधामसम्म सञ्चालन हुनेछ । १७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन् भने सेवा सातामा एक दिन सञ्चालन गर्ने व्यवस्था गरिएको छ । श्रममन्त्री रामजी यादवले यस सेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । विशेषगरी नजिकिँदै गरेको विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा भक्तजनका लागि यो रेल सेवा सहज माध्यम बन्ने अपेक्षा गरिएको छ । रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुरधामलाई रेलमार्गले जोडिनु दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धमा नयाँ आयाम थपिनुका साथै धार्मिक पर्यटनका लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments