सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल प्रथम

4 घन्टा पहिले प्रकाशित

शिवराम झा

जनकपुरधाम, मंसिर ६ गते ।  मैथिली भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा–चकेवा महोत्सव–२०८३ को तेस्रो शृङ्खला शनिबार राति सम्पन्न भएको छ।

जनकपुरधाम उपमहानगरपालिकासँगको सहकार्यमा मैथिली विकास कोषद्वारा आयोजित महोत्सवअन्तर्गत जानकी मन्दिरको प्राङ्गणमा सामा खेल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा १० वटा विद्यालय र ७ वटा ग्रामीण सामा समूहले सहभागिता जनाएका थिए।

प्रतियोगितामा विद्यालयतर्फ मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ स्कुल प्रथम, साउथ प्वाइन्ट स्कुल द्वितीय र ऊ आर सी एस स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी, ग्रामीण समूहअन्तर्गत सामा समूह पुलचोक प्रथम, कुवा समूह द्वितीय र रामपुर समूह तृतीय भएका छन्।

मैथिलीका मौलिक गीत, संगीत, खेल तथा परम्परागत सांस्कृतिक प्रस्तुतिहरूलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिएका छन्।

उनका अनुसार मैथिल समुदायको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको सामा–चकेवा पर्वको महत्व नयाँ पुस्तासम्म पुर्‍याउनु महोत्सवको मुख्य उद्देश्य हो। मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै यसको पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?