नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन जनकपुरधाममा १४ गते : विमलेन्द्र निधि

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर ४ गते ।  नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना हुने जानकारी दिएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निधिले महाधिवेशनको उद्घाटन काठमाडौंको टुँडिखेलमा र निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रिय सभागृहमा हुने बताए। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको उनको भनाइ छ।

महाधिवेशनको तयारीस्वरूप पार्टीले वडा, क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाएको निधिले बताए। उनका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १४४ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ भने ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ। बाँकी क्षेत्रमा पनि अधिवेशनको प्रक्रिया जारी रहेको उनले जानकारी दिए।

सातै प्रदेशको अधिवेशनको मिति सार्वजनिक गर्दै निधिले गण्डकी प्रदेशको मंसिर ५ गते पोखरा, लुम्बिनीको ७ गते दाङको भालुवाङ, कर्णालीको १३ गते सुर्खेत र मधेश प्रदेशको १४ गते जनकपुरधाममा अधिवेशन हुने बताए। त्यस्तै, सुदूरपश्चिमको १५ गते धनगढी, कोशीको १७ गते विराटनगर र बागमती प्रदेशको १९ गते काठमाडौंमा अधिवेशन आयोजना गरिनेछ। मधेश प्रदेश अधिवेशनको स्थान खुला मैदान वा हलमध्ये कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

मधेश प्रदेश अधिवेशनको तयारीका लागि बर्दिबासमा आठै जिल्लाका जिल्ला सभापति, ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि, केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको बैठक बस्ने निधिले जानकारी दिए। मधेश प्रदेशका संयोजक पद्मनारायण चौधरीसहित नेताहरूको सहभागितामा हुने बैठकले अधिवेशनको तयारी र व्यवस्थापनबारे समीक्षा गर्नेछ। उनले पार्टीको विधान, देशको कानुन र संगठनात्मक परम्पराअनुसार वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गरेर मात्र राष्ट्रिय महाधिवेशनमा सहभागी हुने बताए।

यसैबीच, निधिले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंसिर ६ गतेदेखि हुने भारत भ्रमण सफलताको शुभकामना दिएका छन्। भ्रमणका क्रममा जनकपुरधाम–अयोध्या रेलसेवालाई नियमित सञ्चालन गर्नुका साथै जनकपुर–अयोध्या हवाई सेवा सुरु गर्ने विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ छ। नेपाल–भारतबीच आर्थिक विकास, सीमा व्यवस्थापन, व्यापार तथा अन्य द्विपक्षीय सहकार्यका विषयमा पनि सकारात्मक उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै उनले प्रधानमन्त्रीको भ्रमण सफल होस् भन्ने कामना गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?