नेपाल–भारत आर्थिक सहकार्य विस्तारका लागि वीरगञ्जमा आर्थिक मञ्च, व्यापारिक अवरोध हटाउन व्यवसायीको जोड
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ३ गते । नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले वीरगञ्जमा ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ आयोजना गरिएको छ। नेपाल युवा उद्यमी मञ्च (NYEF) वीरगञ्ज च्याप्टर र भारतको पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (PHDCCI) अन्तर्गतको इन्डिया–नेपाल सेन्टरको संयुक्त आयोजनामा मंगलबार (नोभेम्बर १८) मञ्च सम्पन्न भएको हो। प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा दुई देशबीचको व्यापार, लगानी, पूर्वाधार तथा कनेक्टिभिटी विस्तारका विषयमा छलफल गरिएको थियो। सम्भावित एजेन्डामा नयाँ हवाई मार्ग, जनकपुर–अयोध्या सीधा रेल सेवा तथा भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतीय सहयोगका विषयसमेत उठेका छन्।
कार्यक्रममा भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीनाले द्विपक्षीय व्यापार र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन नियमित संवाद आवश्यक रहेको बताउनुभयो। उद्योगी तथा व्यवसायीहरूले सीमापार व्यापारका गैरभन्सार अवरोध, अवैध व्यापार नियन्त्रण, भन्सार प्रक्रिया सरलीकरण, डिजिटल प्रणालीको विकास र HS कोडमा एकरूपता कायम गर्नुपर्ने माग गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटालगायतले व्यापारिक समस्या समाधानका लागि दुवै देशबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याउनुभयो। सहभागीहरूले कनेक्टिभिटी, उत्पादकत्व, लगानी, शिक्षा तथा औद्योगिक सहकार्य विस्तारमा जोड दिँदै छलफलबाट प्राप्त सुझावलाई नीतिगत तथा व्यावहारिक कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए।
कमेन्ट गर्नुहोस्
view comments