जसपा नेपालबाट निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त, सुनसरीका जनप्रतिनिधि पनि सूचीमा

14 मिनट पहिले प्रकाशित

काठमाडौं, मंसिर ३ गते ।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई दल त्याग गरेका १८ जना जनप्रतिनिधिको पद रिक्त भएको औपचारिक जानकारी दिएको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै मंसिर २ गतेको निर्णयअनुसार सम्बन्धित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको विवरण जसपा नेपालको केन्द्रीय समन्वय समितिको निर्णयसहित आयोगमा प्राप्त भएपछि पद रिक्त गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

पद रिक्त हुनेमा सिरहाको लहान नगरपालिकाकी उपप्रमुख रामचरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजयकुमार महतो छन्। पर्साको कालिकामाई गाउँपालिका–१ का लालबाबु राउत बरै र वडा नं. ३ का सञ्जयकुमार पटेल, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई तथा केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई पनि सूचीमा छन्। त्यसैगरी खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नं. १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गिता वि.क., वडा सदस्यद्वय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पद रिक्त भएको छ। यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का छत्रबहादुर गुरुङ, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोदकुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढालबहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कोइरियाको पदसमेत रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?