मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

26 मिनट पहिले प्रकाशित

काठमाडौं, मंसिर ३ गते ।  मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिक त्रिभुवन राजपथमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। बुधबार बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिनासहित पहिचान खुल्न नसकेकी एक महिलाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

दुर्घटनामा चन्द्रपुर नगरपालिका–३ र ४ का १५ देखि ५८ वर्ष उमेर समूहका सात जना घाइते भएका छन्। स्थानीय बासिन्दा र प्रहरी चौकी भैँसेको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ। घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको नेतृत्वमा ११ सदस्यीय उद्धार टोली घटनास्थल पुगेको थियो। दुर्घटना हुनुको कारण र अन्य विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?