नेपाललाई भारतको २ खर्ब ४० अर्ब विकास सहायता, जनकपुर–अयोध्या रेलदेखि ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्य विस्तार
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ७ गते । भारतले नेपालको विकास, पूर्वाधार निर्माण तथा ऊर्जा क्षेत्रको विस्तारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यअनुसार ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ । अनुदान विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजनामा र ऋण ऊर्जा परियोजनामा खर्च गरिनेछ । यसैक्रममा दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र स्वीकार गर्दै आर्थिक साझेदारी, व्यापार, डिजिटल प्रविधि, जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, नवप्रवर्तन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । चितवनमा भारतीय सहयोगमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने, राष्ट्रिय प्रहरी प्रतिष्ठान निर्माणलाई तीव्रता दिने तथा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति पनि भएको छ । नेपालको पारवहन सुविधाका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह र भविष्यमा ओडिशाको पारादीप बन्दरगाहसम्म पहुँच विस्तार गर्ने विषयसमेत संयुक्त वक्तव्यमा समेटिएको छ ।
नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले जनकपुर–अयोध्याबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा औपचारिक रूपमा सुरु गरिएको छ । दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको यो सेवाले रामायण सर्किट तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको अन्तिम स्थानगत सर्वेक्षण सम्पन्न भएको घोषणा गर्दै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ । सीमा व्यवस्थापन तथा बाँकी विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम अघि बढाउन निर्देशन दिइएको छ । ऊर्जा तथा पेट्रोलियम क्षेत्रमा मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाललाई समर्पण गरिएको छ भने झापामा पेट्रोलियम भण्डारण केन्द्र निर्माणको शिलान्यास र सिलिगुडी–झापा पाइपलाइन निर्माण अघि बढाउने सहमति भएको छ । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्याससँगै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंग्याउने तथा सप्तकोशी र सुनकोशी आयोजनाको अध्ययन तीव्र पार्ने निर्णय गरिएको छ । इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि पनि सहकार्य अघि बढाइनेछ ।
शिक्षा, स्वास्थ्य, सुरक्षा र प्रविधिका क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने क्रममा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अन्तर्राष्ट्रिय शाखा स्थापना गर्ने घोषणा गरिएको छ । यसले उच्च प्राविधिक शिक्षा, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा फरेन्सिक विज्ञान तथा अनुसन्धान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, अन्तरिक्ष तथा भूउपग्रह सञ्चार, दिगो सहरी विकास, स्वास्थ्य सेवा तथा औषधि र पशुपन्छी तथा मत्स्य विकास गरी आठ क्षेत्रमा समझदारीपत्र आदानप्रदान भएका छन् । दुवै देशले बैंकिङ, दूरसञ्चार, स्टार्टअप तथा डिजिटल वित्तीय सेवामा समेत सहकार्य बढाउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री मोदीले नेपाललाई विकास यात्राको नजिकको मित्रका रूपमा निरन्तर सहयोग गर्ने विश्वास दिलाएका छन् भने प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन् । भ्रमणको अन्त्यमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्, जसलाई मोदीले स्वीकार गर्दै भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने बताएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments