गुल्मीमा प्रहरी निरीक्षक केसी निवासमै मृत फेला

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, मंसिर २ गते ।  जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी सरकारी निवासमा मृत अवस्थामा भेटिएका छन्। प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका केसी मंगलबार बिहान लामो समयसम्म नउठेपछि सहकर्मीहरू उनलाई हेर्न पुगेका थिए। सो क्रममा उनी अचेत अवस्थामा फेला परेपछि तत्काल अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सुर्खेत स्थायी घर भएका केसी पछिल्लो एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत थिए। उनले २०५५ सालमा प्रहरी सहायक निरीक्षकबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। उनको मृत्युको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण यकिन हुने प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?