जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस सिन्धुलीको गोलन्जोरमा दुर्घटना, १४ जना घाइते, नौ जनाको पहिचान खुल्यो

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर १ गते ।  जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित १४ जना सवार थिए । दुर्घटनामा सबै यात्रु घाइते भएका छन् ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये नौ जनाको पहिचान खुलेको छ भने अन्य पाँच जनाको विवरण खुल्न बाँकी छ ।

घाइतेहरूको विवरण

प्रहरीका अनुसार घाइते हुनेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ निवासी दीपक कुमार दास रहेका छन् ।

त्यस्तै, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानी कुमारी मण्डल तथा शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित घाइते भएका छन् ।

यसैगरी, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि दुर्घटनामा घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको पहिचान खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?