पशुपति प्रवेशको विवादित भिडिओपछि इटहरीबाट युवक–युवती पक्राउ
2 घन्टा पहिले प्रकाशित
काठमाडैं, असोज २१ गते । पशुपतिनाथ मन्दिरको गैरहिन्दु प्रवेश निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवादमा तानिएको एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–५ की प्रियंका परियार र इटहरी–८ का असिम अन्सारीलाई मंगलबार साँझ इटहरी–९ स्थित रंगशाला चोकबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि बुधबार बिहान हवाई उडानमार्फत काठमाडौं पठाएको जनाएको छ।
दुई दिनअघि ‘प्रियङ्का सन्नी’ नामक टिकटक तथा फेसबुक खाताबाट सार्वजनिक भिडिओमा आफूलाई मुस्लिम समुदायको सदस्य बताउने उक्त जोडी पशुपतिनाथ मन्दिरको भित्री गेटसम्म पुगेको देखिएको थियो। हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेश अनुमति रहेको क्षेत्रसम्म उनीहरू पुगेपछि सामाजिक सञ्जालमा विरोध भएको थियो। विवादपछि सार्वजनिक अर्को भिडिओमा प्रियंका र असिमले आफूहरूको कुनै खराब नियत नरहेको बताएका छन्। प्रियंकाले आफूहरू भित्र प्रवेश गरेलगत्तै सुरक्षाकर्मीले देखेर बाहिर पठाएको र घटनामा पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सुरक्षा गार्डको कुनै गल्ती नरहेको दाबी गरेकी छन्।
कमेन्ट गर्नुहोस्
view comments