भोटेकोशी–त्रिशूली बाढी : ५०४ पुनर्निर्माण योजनालाई ५ खर्ब ५९ अर्बको स्रोत जुटाइँदै
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज १९ गते । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यकबाहेकको खोज तथा उद्धार चरण स्थगित गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले प्रभावित क्षेत्रको अवस्था र सम्बन्धित निकायको सिफारिसका आधारमा उद्धारको चरण परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। अब प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिने सरकारको तयारी छ।
बैठकले विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ। लागत अनुमान र प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि थप बजेट व्यवस्थाका लागि सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ। प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा विपद् व्यवस्थापन भइरहेको उल्लेख गर्दै पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि यही समन्वयबाट अघि बढाइने बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments