कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन दुई दिन सर्यो
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज १३ गते । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सारेको छ। यसअघि तय भएको असोज १६ गतेको उद्घाटन अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा निर्वाचन समिति तथा पार्टीका विभिन्न तहबाट प्राप्त जानकारी र पछिल्लो प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै मिति परिवर्तन गरिएको उल्लेख छ।
कांग्रेसका वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेशसभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया केही स्थानमा जारी छ। देशका विभिन्न क्षेत्रमा भएको भारी वर्षाका कारण अधिवेशन तथा प्रतिनिधि चयन प्रभावित भएपछि उद्घाटन मिति सारिएको कांग्रेसले जनाएको छ। यसअघि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

कमेन्ट गर्नुहोस्
view comments