स्वास्थ्य बीमामा नयाँ नियम: ओपीडीमा वार्षिक २५ हजार सीमित, फागुन १ बाट लागू

2 दिन पहिले प्रकाशित

काठमाडौं, माघ १९ गते ।  स्वास्थ्य बीमा बोर्डले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा बीमित बिरामीले अधिकतम २५ हजार रुपैयाँ मात्र सुविधा लिन सक्ने नयाँ व्यवस्था लागू गर्न लागेको छ। सूचना अधिकारी विकेश मल्लका अनुसार यो सीमापछि बाँकी उपचार खर्च अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक सेवामा प्रयोग गर्न सकिनेछ। बोर्डको अध्ययनले बीमाको ७१ प्रतिशत खर्च ओपीडीमै जाने पुष्टि भएपछि दुरुपयोग रोक्न सेवा वर्गीकरण गरिएको उहाँले बताए। आउँदो फागुन १ गतेदेखि कार्यान्वयन हुने यो नियमले आइसीयू, सर्जरी जस्ता महँगो उपचारमा सन्तुलन ल्याउने बोर्डको दाबी छ। हाल ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेर परिवारका ५ सदस्यले वार्षिक १ लाखसम्मको सेवा लिन सक्छन्, तर ओपीडीमा २५ हजारभन्दा बढी भए बिरामीले आफैं शुल्क तिर्नुपर्ने छ।

विशेषज्ञहरूले भने प्रिमियम बढ्ने सम्भावनाले विपन्न तथा गरिब परिवारको आर्थिक भार थपिने चिन्ता व्यक्त गरेका छन्, जसले बिमित संख्या घटाउन सक्छ। बोर्डको तथ्यांकअनुसार अधिकांश बिमितले सेवा लिन मात्र बीमा गराएका छन् भने घरमा बिरामी वा जोखिमयुक्त सदस्य भएकाहरूले बढी प्रयोग गर्दा बीमाको वित्तीय अवस्था कमजोर बनेको छ। यो नियमले बीमाको दिगोपन कायम राख्ने प्रयास भए पनि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विज्ञहरूको सुझाव छ। थप विवरणका लागि बोर्डको आधिकारिक सूचना हेर्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?