संवादबिनै दर्शकको मन जित्ने अभिनेता थिए सञ्जीव कुमार

9 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २५ गते । भारतीय चलचित्रका महान् अभिनेता सञ्जीव कुमारको जन्मजयन्तीका अवसरमा उनको अभिनय यात्रालाई फेरि स्मरण गरिएको छ। सन् १९३८ जुलाई ९ मा मुम्बईमा जन्मिएका सञ्जीव कुमारले बाल्यकालदेखि नै अभिनेता बन्ने सपना देखेका थिए। सुरुआती दिनमा धेरै संघर्ष गर्नुपरे पनि उनले सन् १९६५ मा ‘निशान’ मार्फत मुख्य अभिनेताका रूपमा अवसर पाए। त्यसअघि र त्यसपछिका केही वर्ष उनले थुप्रै साना भूमिकासहित बी–ग्रेड चलचित्रमा अभिनय गरे पनि अपेक्षित सफलता पाउन सकेका थिएनन्।

सन् १९७० मा ‘खिलौना’ सफल भएपछि उनी बलिउडका स्थापित नायक बने। त्यही वर्ष प्रदर्शन भएको ‘दस्तक’ का लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरे। सन् १९७२ को ‘कोशिश’ मा उनले बोल्न नसक्ने पात्रको भूमिका निर्वाह गर्दै संवादबिनै आँखा र अनुहारका भावमार्फत दर्शकको मन जितेका थिए। यही अभिनयका लागि उनले दोस्रो पटक राष्ट्रिय पुरस्कार जिते, जुन उनको करिअरकै उत्कृष्ट उपलब्धिमध्ये एक मानिन्छ।

सञ्जीव कुमारले आफूलाई केवल नायकमा सीमित नराखी विविध चरित्रमा अभिनय गरे। सन् १९७५ को सुपरहिट फिल्म ‘शोले’ मा उनले जया भादुरीका ससुर ‘ठाकुर बलदेव सिंह’को अविस्मरणीय भूमिका निभाएका थिए। दुई पटक फिल्मफेयर र दुई पटक राष्ट्रिय पुरस्कारबाट सम्मानित उनी ६ नोभेम्बर १९८५ मा ४७ वर्षको उमेरमै संसारबाट बिदा भए पनि भारतीय सिनेमाका सर्वकालीन उत्कृष्ट अभिनेतामध्ये एकका रूपमा आज पनि सम्झिने गरिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?