जनकपुरधामका मेयर मनोज साह नेपाल नगरपालिका संघको मधेश संयोजक नियुक्त

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २४ गते । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह नेपाल नगरपालिका संघको मधेश प्रदेश समितिको संयोजकमा मनोनित भएका छन्। संघको असार १५ गते बसेको कार्यसमिति बैठकले रिक्त रहेको मधेश प्रदेश संयोजक पदमा साहलाई मनोनयन गर्ने तथा केन्द्रीय कार्यसमितिको पदेन सदस्य बनाउने निर्णय गरेको थियो। उक्त निर्णयबारे संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले हस्ताक्षर गरेको पत्रमार्फत जानकारी गराइएको छ।

प्रदेश संयोजकका रूपमा साहले मधेश प्रदेशका स्थानीय तहबीच सहकार्य र समन्वय अभिवृद्धि गर्ने, साझा समस्या र आवश्यकतालाई एकीकृत रूपमा उठाउने तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गर्दै मधेशका स्थानीय तहका विकास प्राथमिकता, चुनौती र आवश्यकतालाई राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउने बताएका छन्।

नेपाल नगरपालिका संघले स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार तथा स्थानीय तहका साझा हितका विषयमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ। यसअघि मधेश प्रदेश संयोजकको जिम्मेवारी धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रदीपकुमार यादवले सम्हाल्दै आएका थिए। उनको गत माघ २६ गते उपचारका क्रममा निधन भएपछि उक्त पद रिक्त रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?