सर्लाहीमा अवैध गर्भपतन क्लिनिकमा छापा, एक पक्राउ — नवलपुर र मलङ्गवामा स्वास्थ्य संस्थामाथि निगरानी कडा
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १८ गते । लालबन्दी नगरपालिका–२ नवलपुर जुटपानी क्षेत्रमा भाडाको घरमा लुकिछिपी सञ्चालन भइरहेको अवैध गर्भपतन क्लिनिकमा प्रहरीले छापा मारेर धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ निवासी ४५ वर्षीय लालबाबु राय यादवलाई पक्राउ गरेको छ। कुनै पनि निकायमा दर्ता नगरी तथा अनुमतिबिना स्वास्थ्य सेवा सञ्चालन गरेको सूचनाका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको टोलीले बुधबार अनुगमन गर्दा अवैध गतिविधि फेला परेको थियो। नवजीवन विद्याश्रम नजिक बोर्डसमेत नराखी सञ्चालित उक्त क्लिनिकबाट गर्भपतनमा प्रयोग हुने औजार तथा औषधि बरामद गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिए। क्लिनिक तत्काल सिल गरी सञ्चालकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
यसै क्रममा नवलपुर र मलङ्गवा क्षेत्रमा स्वास्थ्य संस्थामाथि निगरानी थप कडा बनाइएको छ। लालबन्दी नगरपालिका–१ क्षेत्रमा गरिएको अनुगमनमा १३ वटा स्वास्थ्य संस्था तथा औषधि पसल जाँच गर्दा पाँच वटा सिल गरिएको, एकलाई जरिवाना गरिएको र दुईलाई सात दिनभित्र कागजात पूरा गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments