सुत्केरीको मृत्युपछि प्रादेशिक अस्पताल विवादमा, छानबिन समिति अझै अपूर्ण
3 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १२ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल प्रशासन र चिकित्सकमाथि गम्भीर प्रश्न उठेको छ । २६ वर्षीया अन्जिना यादवको मृत्यु भएपछि परिवारजनले चिकित्सकको लापर्बाहीका कारण घटना भएको आरोप लगाउँदै आन्दोलन गरेपछि मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गी लाल रायको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको थियो । सात दिनभित्र प्रतिवेदन बुझाउने भनिए पनि निर्णय भएको दुई दिन बित्दा समेत समितिले पूर्णता पाउन सकेको छैन । मन्त्रालयका जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुख डा. विपिनकुमार झाले समितिको संयोजकमा डा. इन्द्रजित रजकलाई तोकिएको र अन्य सदस्यबारे छलफल भइरहेको जानकारी दिएका छन् ।
मृतक अन्जिनाका पति राधेश्याम यादवले शल्यक्रियामा संलग्न चिकित्सक धीरेन्द्रकुमार साह र श्रेया लक्ष्मी साहको लापर्बाहीका कारण आफ्नी पत्नीको ज्यान गएको आरोप लगाएका छन् । उनका अनुसार जेठ ४ गते प्रसव पीडापछि अस्पताल ल्याइएकी अन्जिनालाई सुरुमा सामान्य सुत्केरी हुने बताइए पनि पछि आकस्मिक शल्यक्रिया गरिएको थियो । शिशु जन्मिएपछि अत्यधिक रक्तस्राव भएपछि पाठेघर निकाल्नुपरेको र दोस्रो शल्यक्रियापछि अवस्था झन् गम्भीर बनेको उनले बताएका छन् । घटनापछि पीडित परिवारले दोषीमाथि कारबाही र चिकित्सक निलम्बनको माग गरेका थिए । यद्यपि चिकित्सकहरूले निलम्बनको विरोध गर्दै अस्पतालका सेवा नै ठप्प पारेका छन् । अस्पताल प्रशासनले भने अन्जिनाको अवस्था सुरुदेखि नै जटिल रहेको र गर्भावस्थामा नियमित परीक्षण नगराएकाले उपचारमा चुनौती थपिएको दाबी गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments