राम मन्दिर दान चोरी विवादमा अनुराधा पौडवालको प्रश्न– ‘यस्तो अवस्थामा भारत विश्वगुरु कसरी बन्छ?’

15 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार २९ गते ।  चर्चित गायिका अनुराधा पौडवालले राम मन्दिरमा दान चोरीको विवादलाई लिएर प्रश्न उठाउँदै भारतलाई विश्वगुरु बनाउने दाबीमाथि टिप्पणी गरेकी छन्। उनले पछिल्लो एक अन्तर्वार्तामा देशमा भइरहेका केही घटनाले विश्वगुरुको अवधारणामाथि नै प्रश्न उठाएको बताइन्।

शुभांकर मिश्रासँगको कुराकानीमा पौडवालले केही वर्षअघिसम्म आफूलाई पनि भारत विश्वगुरु बन्ने विश्वास रहेको तर पछिल्लो अवस्थाले निराश बनाएको बताइन्। उनले शिक्षा क्षेत्रको अवस्था र अन्य घटनाहरू उल्लेख गर्दै विश्वगुरुको अर्थलाई सही रूपमा बुझ्नुपर्ने धारणा राखिन्।

राम मन्दिरमा भएको भनिएको दान चोरी विवादबारे प्रतिक्रिया दिँदै उनले भनिन्, “राम मन्दिरमा पनि डकैती भयो। यस्ता विषयहरूको सूची पठाउनुहोस्, ताकि त्यसैअनुसार अघि बढ्न सकियोस्।” उनले सरकारको आलोचना गर्दै विश्वगुरु बन्नका लागि व्यवहारिक सुधार आवश्यक रहेको संकेत गरिन्।

अनुराधा पौडवालले अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनका पीडाबारे पनि खुलासा गरेकी छन्। उनले आफ्नो छोरा मात्र नभई २५ दिनकी छोरीको समेत निधन भएको बताइन्। भजन तथा फिल्म संगीत क्षेत्रमा योगदान पुर्‍याएकी पौडवाललाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?