अफ्रिकामा इबोला संक्रमणको जोखिम उच्च, तर विश्वव्यापी महामारी नभएको डब्लूएचओको स्पष्टोक्ति
11 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ ७ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकी मुलुकहरूमा फैलिरहेको इबोला संक्रमणलाई राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उच्च जोखिमयुक्त माने पनि हालसम्म यसलाई विश्वव्यापी महामारीको अवस्था नरहेको स्पष्ट पारेको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) र युगान्डामा देखिएको संक्रमणलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा व्याख्या गरिएको भए पनि विश्वव्यापी प्यानडेमिक घोषणा गर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।

हालसम्म कङ्गोका इटुरी र उत्तरी किवु प्रान्तमा ५१ जनामा संक्रमण पुष्टि भएको छ भने युगान्डाको राजधानी कम्पालामा कङ्गोबाट आएका दुई जनामा संक्रमण देखिएको छ, जसमध्ये एक जनाको मृत्यु भइसकेको छ । पुष्टि भएका संक्रमितबाहेक करिब ६०० संदिग्ध बिरामी फेला परेका छन् भने १३९ जनाको मृत्यु संदिग्ध अवस्थामा भएको डब्लूएचओले जनाएको छ । संक्रमण फैलिन नदिन तत्काल अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको उल्लेख गर्दै डब्लूएचओले जनशक्ति, स्वास्थ्य सामग्री र आर्थिक सहायता परिचालन गरिसकेको जनाएको छ । महानिर्देशक टेड्रोसका अनुसार आपतकालीन कोषबाट थप ३४ लाख अमेरिकी डलर स्वीकृत गरिएसँगै इबोला नियन्त्रणका लागि कुल सहायता रकम ३९ लाख अमेरिकी डलर पुगेको छ ।
कमेन्ट गर्नुहोस्
view comments