जसपा सांसद सरोज सिंह कुशवहा पुनः निलम्बित — अख्तियारले आरोप पत्र दायर गरेपछि मधेस प्रदेश सभाको निर्णय

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ३१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेशसभा सदस्य सरोज सिंह कुशवहा फेरि निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेपछि मधेस प्रदेश सभाले उनलाई पुनः निलम्बन गरेको सूचना सार्वजनिक गरेको हो।

यसअघि जेठ २९ गते अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदा कुशवहालाई प्रदेश सभाले निलम्बन गरेको थियो। तर भदौ १३ गते प्रदेशसभा सचिवालयले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो। त्यसबेला अख्तियारले अदालतमा आरोप पत्र दायर नगरेको र सिंह धरौटीमा रिहा भइसकेका कारण निलम्बन हटाइएको उल्लेख गरिएको थियो।

महोत्तरी क्षेत्र नम्बर ४(२) बाट निर्वाचित सांसद कुशवहामाथि विभिन्न उपभोक्ता समितिबाट संकलित रकम आफ्ना निजी सचिव विनोदलाल कायस्थको खातामार्फत आफ्नो खातामा जम्मा गरेको अभियोग छ। सोही विषयमा अख्तियारले अब उनीविरुद्ध अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ।

कुशवहाको पुनः निलम्बनले नव नियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) लाई विश्वासको मतका क्रममा संख्यात्मक चुनौती पर्ने आकलन गरिएको छ। सोनार ५६ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए, तर अब तीन सांसद निलम्बित भएपछि समर्थन संख्या घटेको छ।

मधेस प्रदेशसभामा कुल १०७ सदस्य रहेका छन्। जसमा हालसम्म जसपा सांसद सरोज सिंह कुशवहा, एमाले सांसद दीपेन्द्र ठाकुर र अभिराम शर्मा गरी तीन जना सांसद निलम्बित भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?