राजगुठीका पोखरी अतिक्रमण हटाउन गुठी संस्थानको सात दिने सूचना

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र २१ गते ।  जनकपुरधाम उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गत रहेका पोखरी तथा त्यसका डिलमा भएको अतिक्रमण हटाउन गुठी संस्थानले सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनको समय दिएको छ। गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले सार्वजनिक सूचना जारी गर्दै राजगुठीका पोखरी तथा डिलमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन भइरहेको भन्दै त्यस्ता संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो। संस्थानका अनुसार देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डलगायतका पोखरी तथा तिनका डिलमा अतिक्रमण भएको छ।

गुठी संस्थानले तोकिएको सात दिनभित्र अनधिकृत संरचना हटाई राजगुठीको सम्पत्ति संरक्षणमा सहयोग गर्न सम्बन्धितलाई आग्रह गरेको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्वका पोखरी संरक्षणको विषय लामो समयदेखि उठ्दै आए पनि अतिक्रमण हटाउने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन। यसअघि भदौ ६ गते जनकपुरधामका सात वटा पोखरीका डिलबाट अतिक्रमण हटाइएको थियो। गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिको निर्णयका आधारमा पछिल्लो सूचना जारी गरिएको गुठी संस्थानले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?