सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष पक्राउ
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २१ गते । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगञ्जस्थित क्यासिनो पुगेपछि प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति नियमित छड्के जाँचका क्रममा वीरगञ्ज–गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जना नेपालीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियोसहित अध्यक्ष यादवलाई राति करिब ११ बजे नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले उनीहरूमाथि अनुसन्धान भइरहेको र अनुसन्धानपछि आवश्यक कानुनी कारबाही अघि बढाइने जानकारी दिनुभएको छ।
नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध छ। प्रहरीका अनुसार वीरगञ्जका विभिन्न होटलमा क्यासिनो सञ्चालनमा रहेका छन्। क्लार्क रिसोर्ट होटलमा एउटा, सिद्धार्थ दियालो होटलमा दुईवटा, सरोवर होटलमा तीनवटा र सुरज होटलमा एउटा क्यासिनो सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अध्यक्ष यादवसहित आठै जनामाथि क्यासिनोमा जुवा खेलेको विषय तथा सरकारी सवारीसाधन प्रयोगसम्बन्धी पक्षमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments