उत्तराखण्डमा ‘हनुमान अंश’ करमुक्त, मुख्यमन्त्री धामीले गरे घोषणा

1 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र २१ गते ।  आध्यात्मिक गुरु बाबा नीम करोली महाराजको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’लाई उत्तराखण्ड सरकारले करमुक्त गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले शुक्रबार साँझ सिनेमा हलमा फिल्म हेरेपछि यस्तो घोषणा गरेका हुन्। फिल्म हेर्न मुख्यमन्त्री धामीसँग उनकी पत्नी गीता धामी, प्रदेश सरकारका मन्त्री तथा केही विधायकसमेत पुगेका थिए। फिल्मपछि धामीले बाबा नीम करोली महाराजको जीवन र उनका विचारको प्रशंसा गर्दै सत्य, सेवा, करुणा र आध्यात्मिकताको मार्गमा अघि बढ्न उनको जीवनले प्रेरणा दिने बताए।

मुख्यमन्त्री धामीले बाबा नीम करोली महाराजको मानव सेवा र प्रेमको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले कैंची धामलाई देश तथा विदेशमा श्रद्धा र आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा उल्लेख गरे। विशाल चतुर्वेदीको निर्देशनमा बनेको फिल्ममा शोभिनव सत्यासहितका कलाकारले अभिनय गरेका छन्। फिल्म ७ अगस्टदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?