आरा पुग्नुअघि महानंदा एक्सप्रेस रेलको इन्जिनसहित तीन डिब्बा पटरीबाट खसे
3 घन्टा पहिले प्रकाशित
एजेन्सी, भाद्र २१ गते । बिहारको आरा रेलवे स्टेशन पुग्नुअघि महानंदा एक्सप्रेस रेलको इन्जिनसहित तीनवटा डिब्बा पटरीबाट खसेका छन्। अलीपुरद्वारबाट दिल्ली गइरहेको रेल आरा स्टेशनको दोस्रो मञ्चबाट करिब २०० मिटर दूरीमा दुर्घटनामा परेको हो। दुर्घटनामा इन्जिन, सामान तथा सुरक्षा सामग्री राख्ने डिब्बा र एच–१ डिब्बा पटरीबाट खसे पनि मानवीय क्षति भएको सूचना छैन। घटनापछि यात्रुहरूमा केही समय त्रास फैलिएको थियो।
घटनाको जानकारी पाएलगत्तै रेलवेका अधिकारी तथा कर्मचारी घटनास्थलमा पुगेर उद्धार, जाँच तथा रेलमार्ग मर्मतको काम सुरु गरेका थिए। प्रारम्भिक विवरणअनुसार रेल सञ्चालनका क्रममा देखिएको प्राविधिक समस्याका कारण रेल गलत मार्गतर्फ गएको र त्यसपछि पटरीबाट खसेको बताइएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। दुर्घटनाका कारण रेल सेवा तीन घण्टाभन्दा बढी समय प्रभावित भएको र मर्मतपछि सेवा पुनः सञ्चालनमा ल्याइएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments