बाढीपहिरो प्रभावित दुर्गम क्षेत्रमा चिनियाँ ड्रोनबाट राहत सामग्री ढुवानी सुरु
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २२ गते । रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्याउन चिनियाँ ड्रोनमार्फत खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानी सुरु गरिएको छ। चीन सरकारले नेपाललाई उपलब्ध गराएका चारवटा आधुनिक ड्रोनको सफल परीक्षणपछि सडकमार्ग अवरुद्ध भएका क्षेत्रमा राहत सामग्री पुर्याउन प्रयोग गर्न थालिएको हो। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ती ड्रोनले अधिकतम १०० किलोग्रामसम्म भार बोक्न सक्छन्। परीक्षणका क्रममा एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री ढुवानी गर्न सफल भएको उनले बताए।
भीषण बाढी तथा पहिरोका कारण सडक सम्पर्क विच्छेद भएका र भौगोलिक विकटताका कारण हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने क्षेत्रमा राहत पुर्याउन ड्रोन प्रभावकारी विकल्प बन्न सक्ने मन्त्री पुनले बताए। परीक्षण सफल भएपछि ती ड्रोन रसुवासहित बाढीबाट प्रभावित अन्य दुर्गम क्षेत्रमा समेत परिचालन गर्ने तयारी गरिएको छ। सडक सम्पर्कविहीन भएका बस्तीमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री छिटो पुर्याउन ड्रोनबाट ढुवानीले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments