गागन खोला किनारमा करिब ५० वर्षीया महिलाको शव फेला
19 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ९ गते । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला किनारमा करिब ५० वर्षीया एक महिलाको शव फेला परेको छ। मंगलबार स्थानीयवासीले भैँसी चराउने क्रममा खोलाको किनारमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन र उनको साथबाट पहिचान खुल्ने कुनै कागजातसमेत फेला परेको छैन। मृत्युको कारण पनि तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। शव परीक्षणको प्रतिवेदन तथा थप अनुसन्धानपछि घटनाको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार महिलाको पहिचानका लागि स्थानीयवासी तथा आसपासका क्षेत्रबाट आवश्यक जानकारी संकलन गर्दै घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments