साउदी अरबमा अर्को नेपालीलाई मृत्युदण्ड, शव परिवारलाई नदिने परम्परा यथावत

3 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ १६ गते । कास्कीका पुष्पराज रानाभाटलाई आफ्नै दुई नेपाली सहकर्मीको हत्या गरेको ठहर गर्दै साउदी अरबले मृत्युदण्ड दिएको छ। तीनै तहको अदालतले सजाय सदर गरेपछि दमाम जेल प्रशासनले जेठ १९ गते बिहान ७:५९ बजे सजाय कार्यान्वयन गरेको हो। दुई वर्षअघि भएको घटनामा रानाभाटले एउटै कोठामा बस्ने भाग्यनारायण राई र सरोजकुमार झाको हत्या गरेको ठहर भएको थियो। पीडित पक्षसँग ‘ब्लडमनि’मार्फत सम्झौता नभएकाले सजाय कार्यान्वयन भएको बताइएको छ। अन्तिम इच्छामा उनले पोखरास्थित सम्पत्ति श्रीमती र छोरालाई दिन आग्रह गरेका थिए।

यो पहिलो घटना भने होइन। यसअघि २०७९ कार्तिकमा उदयपुरका विवेक दाहाललाई, र गत वर्ष पर्वतका सन्तबहादुर पुनलाई पनि मृत्युदण्ड दिइएको थियो। दाहालको शव परिवारलाई नदिइ साउदीमै गाडिएको थियो, जुन त्यहाँको कानुनी प्रचलन हो। सन् २०२३ मा मात्र साउदी अरबले १७२ जनालाई मृत्युदण्ड दिएको थियो, जुन २०२२ को तुलनामा केही कम भए पनि दर अझै उच्च छ। युवराज मोहम्मद बिन सलमानले हत्याका मुद्दाबाहेक मृत्युदण्ड हटाउने योजना अघि सारे पनि व्यवहारमा यसको प्रयोग घटेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?