निजी इन्टरनेटको शुल्क विवादबीच टेलिकमको सस्तो अफरतर्फ ग्राहकको आकर्षण

55 मिनट पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ११ गते ।  निजी इन्टरनेट सेवा प्रदायकहरूले साना क्षमताका प्याकेज बन्द गरेको र शुल्क बढाएको भन्दै उपभोक्ताबाट असन्तुष्टि व्यक्त भइरहेका बेला नेपाल टेलिकमको वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँको ३० एमबीपीएस एनटी फाइबर प्याकेजप्रति आकर्षण बढेको छ। टेलिकमका अनुसार नयाँ इन्टरनेट जडानको माग साविकको तुलनामा तीन गुणासम्म पुगेको छ। साउन र भदौमा मासिक औसत ३ हजार नयाँ जडान हुँदै आएकोमा असोजमा यो संख्या बढेर ६ हजार पुगेको सहायक प्रवक्ता प्रक्षेत थापा क्षेत्रीले बताएका छन्। दसैँ र तिहार लक्षित अफरमा जडान शुल्कसमेत छुट दिइएकाले सहरी क्षेत्रबाट विशेषगरी माग बढेको टेलिकमको भनाइ छ।

तर, सस्तो प्याकेजप्रति आकर्षण बढेसँगै सेवाको गुणस्तर, ग्राहक सहायता र राउटरको विषयमा पनि प्रश्न उठेका छन्। केही प्रयोगकर्ताले ग्राहक सेवामा लामो समय प्रतीक्षा गर्नुपर्ने र ३० एमबीपीएसको प्याकेजमा पुरानो सिंगल-ब्यान्ड राउटर उपलब्ध गराइएको गुनासो गरेका छन्। टेलिकमले भने नेटवर्कको क्षमता र इन्टरनेटको गुणस्तरमा सम्झौता नगरिएको दाबी गरेको छ। अर्कोतर्फ, निजी सेवा प्रदायकहरूले पूर्वसूचनाबिना शुल्क बढाएको र कम क्षमताका प्याकेज हटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। प्याकेज घोषणासम्बन्धी नियामकीय विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसहित छ सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको विवरणसमेत सार्वजनिक भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?