एनपीएल सिजन–३ आजदेखि सुरु, उद्घाटनमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
1 घन्टा पहिले प्रकाशित
काठमाडौं, कार्तिक ९ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र लगातार दुई सिजन फाइनल खेलेको सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। पहिलो सिजन अंकतालिकाको पुछारमा रहेको लुम्बिनीले दोस्रो सिजन उपाधि जितेको थियो। यसपटक उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रने लुम्बिनीले कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दीनेश अधिकारी र दिलीप नाथजस्ता घरेलु खेलाडीलाई निरन्तरता दिएको छ। टोलीमा नामिबियाका रुबेन ट्रम्पलम्यान, अस्ट्रेलियाका डार्सी सर्ट र श्रीलंकाका निरोशन डिकवेलासहित विदेशी खेलाडी पनि छन्। अघिल्लो संस्करणमा ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स भने लगातार तेस्रोपटक फाइनल पुग्ने र यसपटक उपाधि जित्ने लक्ष्यमा छ। पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको टोलीले पाकिस्तानका पूर्वकप्तान मिस्बाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। टोलीमा इंग्ल्यान्डका सैफ जैब, न्युजिल्यान्डका स्कट कुगलेइन, स्कटल्यान्डका ब्रान्डन म्याकमुलन तथा वेस्ट इन्डिजका फाबियन एलेन र शेरफेन रदरफोर्ड छन्। लुम्बिनी र सुदूरपश्चिमबीच यसअघि भएका तीन खेलमध्ये दुईमा सुदूरपश्चिम विजयी भएको थियो। तर, निर्णायक खेलमा लुम्बिनीले ६ विकेटको जित निकाल्दै उपाधि जितेको थियो। उद्घाटन खेलमा सुदूरपश्चिम पुरानो हारको बदला लिने दाउमा रहँदा लुम्बिनी भने विजयी सुरुआत गर्दै उपाधि रक्षा अभियान अघि बढाउन चाहन्छ।
कमेन्ट गर्नुहोस्
view comments