धनुषाका प्रहरी प्रमुख खड्काद्वारा लक्ष्मेश्वर यादवको आरोपको खण्डन, कानुनी उपचारमा जाने चेतावनी

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १० गते ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले हंसपुर नगरपालिका–८, भतही टोलका ५६ वर्षीय लक्ष्मेश्वर यादवले सार्वजनिक कार्यक्रममा आफू र प्रहरी संगठनमाथि लगाएका आरोपको खण्डन गरेका छन्। सोमबार जारी प्रेस विज्ञप्तिमा खड्काले यादवले विभिन्न सरकारी निकाय, जिल्ला प्रहरी कार्यालय धनुषा र आफ्नो नामसमेत लिएर गरेको टिप्पणीलाई आपत्तिजनक, भ्रामक र तथ्यहीन भएको बताएका छन्। उनका अनुसार यादवले आफ्नी परिवारकी एक महिला सदस्य हराएको भन्दै गत भदौ १७ गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीले गरेको बुझाइमा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट गत वैशाख ८ गते नै विवाहको नाता कायम भएको र भदौ १४ गते आफ्ना पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार सम्बन्धित महिला र निवेदक पक्षबीच प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाण देखाएर वास्तविक अवस्थाबारे जानकारी गराइएको थियो।

विज्ञप्तिमा खड्काले यादवले आफ्नो मञ्जुरीबिना विवाह भएको भन्दै सम्बन्धित व्यक्तिलाई पक्राउ गरी छुटाइदिन दबाब दिएको र त्यसो नगरे हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएको आरोप लगाएका छन्। गैरकानुनी कार्य गर्न अस्वीकार गरेपछि प्रतिशोधस्वरूप आफूविरुद्ध तथ्यहीन आरोप लगाइएको खड्काको दाबी छ। उनले प्रहरी संगठन र आफ्नो व्यक्तिगत मर्यादामा आँच पुर्‍याउने खालका टिप्पणीको निन्दा गर्दै लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन्। साथै, अपुष्ट सामग्री सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गर्दै यस विषयमा प्रचलित कानुनअनुसार कानुनी उपचारमा जाने जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?