कांग्रेसको इतर पक्षले २१ जिल्लामा अधिवेशन सम्पन्न गरेको दाबी, मधेसका आठै जिल्ला बाँकी
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक १० गते । नेपाली कांग्रेसको इतर पक्षले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सातवटै प्रदेशका २१ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलका अनुसार एक निर्वाचन क्षेत्र भएका जिल्लासहित २१ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको हो। इतर पक्षले हालसम्म ६ हजार १०७ वडामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ। तर, केही स्थानमा सहभागीको संख्या न्यून देखिएकाले अधिवेशन प्रक्रियामा चुनौती रहेको नेताहरूले बताएका छन्। पोखरेलले क्षेत्रीय अधिवेशनमा सहभागिता उत्साहजनक रहेको उल्लेख गर्दै संस्थापन पक्षबाट आउन चाहने नेता–कार्यकर्तालाई पनि सहभागी हुन रोक नलगाइने बताएका छन्।
प्रदेशगत विवरणअनुसार कोसीका ८९ पालिका, ३४ प्रदेशसभा निर्वाचन क्षेत्र र १७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ। मधेस प्रदेशका १३६ पालिकामध्ये ५४, ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २६ र ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १३ वटामा अधिवेशन सकिएको छ। तर, मधेसका आठवटै जिल्लामा जिल्ला अधिवेशन हुन बाँकी छ। वाग्मतीमा ५५ पालिका, ४० प्रदेशसभा र २० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ भने गण्डकीमा ३५ पालिका, १३ प्रदेशसभा र सात प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रक्रिया पूरा भएको समितिले जनाएको छ। लुम्बिनीमा ८६ पालिका, २४ प्रदेशसभा र १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कर्णालीमा ५५ पालिका, १४ प्रदेशसभा र सात प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा सुदूरपश्चिममा ६६ पालिका, १८ प्रदेशसभा र नौ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ। इतर पक्षले जिल्ला अधिवेशन कात्तिक १५ गतेभित्र, प्रदेश अधिवेशन मंसिर ४ गतेदेखि र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments