लालू यादव र नक्सली–वाम राजनीति : विचारवाददेखि जातीय समीकरणसम्म
3 घन्टा पहिले प्रकाशित

एजेन्सी,भदौ ५ गते । बिहारमा नक्सली आन्दोलन प्रारम्भमा मार्क्स, लेनिन र माओका विचारमा आधारित रहेर अन्याय र शोषणविरुद्ध उठेको थियो। तर १९९० को दशकमा राजनीतिक माहोल पूर्ण रूपमा बदलियो। १९९० को विधानसभा चुनावमा इंडियन पिपुल्स फ्रन्ट (आईपीएफ) ले ८२ सिटमा प्रतिस्पर्धा गरेर सातमा जित निकाले पनि, त्यसपछिको परिस्थितिले यसको आधार खस्यो। लालु यादवको सत्तारोहण र मण्डल आयोगको प्रभावसँगै बिहारको राजनीति जातीय समीकरणतर्फ मोडियो। विचार र अनुशासनमा दृढ रहेको आईपीएफ कमजोर हुँदै गयो र १९९१ मा लालु यादवले पार्टीभित्रका केही विधायकरलाई तोडेर जनता दलमा सामेल गरे। यही क्षणदेखि वाम शक्तिहरूको जनाधार खस्कन थाल्यो।
लालु यादवको रणनीतिक ‘सामाजिक न्याय’ अभियानले गरीब र वंचित मतदाता आफ्नोतर्फ तान्दा आईपीएफ र पछि बनेको भाकपा (माले) क्रमशः कमजोर हुँदै गयो। १९९३ मा आइसा र किसान सभाले गरेको आन्दोलन दमनमा परे पनि प्रतिरोध जारी रह्यो। १९९४ मा आईपीएफ भंग गरेर भाकपा (माले) स्थापना गरियो, जसले सुरुवाती चरणमा लालु यादवविरुद्ध मोर्चाबन्दी गर्दै नीतीश कुमारको समता पार्टीसँग गठबन्धन समेत गरेको थियो। तर समयसँगै परिस्थितिले उल्टो मोड लियो—आज भाकपा (माले) लालु–तेजस्वीको सहयात्री बनेको छ। इतिहासले देखाउँछ, विचार र सिद्धान्तमा सुरु भएको नक्सली राजनीति अन्ततः जातीय समीकरण र सत्ताको गणितमा सीमित हुँदै गएको छ।
कमेन्ट गर्नुहोस्
view comments