कुलमान घिसिङको माग—इन्धन मूल्यवृद्धि फिर्ता गरियोस्

4 दिन पहिले प्रकाशित

काठमाडौं, बैशाख ७ गते । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली प्रदेशका लागि इन्धनमा विशेष सहुलियत आवश्यक रहेको बताए।

उनले कर्णालीको विकट भूगोलका कारण यहाँको जनजीवन महँगो रहेको उल्लेख गर्दै डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनमा मूल्यवृद्धि नगर्न सरकारलाई आग्रह गरे। ‘यहाँ पर्यटक आवागमन सहज बनाउन पनि इन्धन सस्तो हुनुपर्छ,’ उनले भने, ‘छिमेकी देश भारतले मूल्य नबढाएको अवस्थामा नेपालले नागरिकमाथि थप भार पार्नु हुँदैन।’

अध्यक्ष घिसिङले दुईतिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टी सकारात्मक रहेको बताउँदै आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको दाबी गरे। उनका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको छ।

उनले पार्टी संगठन छोटो समयमा गठन भएकाले अघिल्लो चुनावमा अपेक्षित सफलता नपाएको स्वीकार गर्दै आगामी निर्वाचनमा उनेपा बलियो शक्ति बन्ने र वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?