तातो हावाको लहर चल्ने सम्भावना, मौसम विभागको सतर्कता आग्रह
4 महीना पहिले प्रकाशित

काठमाडौं, वैशाख १० गते । मौसम पूर्वानुमान महाशाखाले देशभर विशेषगरी तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढिरहेको भन्दै तातो हावाको लहर (हिट वेभ) चल्न सक्ने चेतावनी दिएको छ। महाशाखाका अनुसार, पछिल्ला दिनमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने केही स्थानमा ४० डिग्रीसम्म मापन गरिएको छ। यस्तो अवस्था आगामी दुई दिनसम्म कायम रहन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन अपिल गरिएको हो।
तातो हावाको लहरले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले चिकित्सक तथा मौसमविद्हरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। शरीरमा चिलाउने, बिमिरा आउने, रिँगटा लाग्ने, वान्ता हुने, रक्तचाप घट्ने, बेहोस हुने जस्ता लक्षण देखिन सक्ने भएकाले शीतल स्थानमा बस्ने, प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, र दिउँसोको समयमा काम नगर्ने उपायले यसको असरबाट जोगिन सकिने महाशाखाले जनाएको छ। साथै, जोखिममा रहेका वृद्ध, बालबालिका तथा बिरामी व्यक्तिको विशेष हेरचाह गर्न पनि आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments