यूएईका विदेशमन्त्री शेख अब्दुल्लाह नेपाल भ्रमणमा, दुईपक्षीय सम्बन्ध सुदृढ गर्ने लक्ष्य

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख ९ गते ।  संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान मंगलबार साँझ चार्टर्ड विमानमार्फत औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्। नेपालस्थित यूएई दूतावासका अनुसार, यो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहितको सद्भावना भ्रमण हो। भ्रमणका क्रममा शेख अब्दुल्लाहले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, श्रममन्त्री शरतसिंह भण्डारीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

सन् २००६ देखि यूएईको परराष्ट्र मन्त्रालय सम्हालिरहेका शेख अब्दुल्लाह यूएई राजपरिवारका वरिष्ठ सदस्यसमेत हुन्। यसअघि काठमाडौंमा यूएईको दूतावासको स्थापना तथा उद्घाटन समारोहमा सहभागी हुन नेपाल आइसकेका उनी, यसपटक पाकिस्तान र श्रीलंका भ्रमणको सिलसिलामा नेपाल आइपुग्न लागेका हुन्। वैदेशिक रोजगारीका लागि यूएई प्रमुख गन्तव्य मुलुकमध्ये पर्नुका साथै नेपाल-यूएई सम्बन्धलाई नयाँ उचाइमा लैजाने अपेक्षासहित यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ। यद्यपि, भ्रमणको समयमा नेपाली परराष्ट्रमन्त्री आरजु राणा बैंककमा रहेकाले समकक्षीस्तरको भेटवार्ता भने सम्भव हुने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?