शंकरापुरमा खुकुरी प्रहारबाट पत्नीको हत्या, दुई बालबालिका गम्भीर घाइते
1 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख ८ गते । काठमाडौंको शंकरापुर नगरपालिका–९ मा घरेलु हिंसाबाट एक महिलाको ज्यान गएको छ। प्रहरीका अनुसार ५८ वर्षीय पदमबहादुर तामाङले आफ्नी ४६ वर्षीया दोस्रो पत्नी माइली तामाङको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। घटना सोमबार राति साढे ९ बजेतिर भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार, माइली आफूसँग सुत्न नआएको कुरामा झोकिँदै पदमबहादुरले आक्रमण गरेका थिए। माइलीको घटनास्थलमै मृत्यु भएको छ। माइली आफ्ना पूर्वपतिको साथमा रहेका १० र ११ वर्षका दुई सन्तानसँग सुतिरहेकी थिइन्। आक्रमणका क्रममा ती बालबालिकासमेत गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। दम्पतीबीच विवाह भएको दुई महिना मात्र भएको थियो। उनीहरूले कृषिको माध्यमबाट जीविकोपार्जन गर्दै आएका थिए। घटनापछि पदमबहादुर फरार रहेका छन् भने प्रहरी घटनाको थप अनुसन्धानमा जुटिरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments