कांग्रेसभित्र भाइरल बन्ने होडले एकता खल्बल्याउँदैछ : मन्त्री डा. आरजु राणा
3 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १ गते । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भाइरल हुने नाममा नेताहरूले जथाभावी बोल्ने र एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति कांग्रेसभित्र बढ्दो क्रममा रहेको चेतावनी दिएकी छन्। इलामको श्रीअन्तुमा कांग्रेस जिल्ला समितिद्वारा आयोजित अग्रज कार्यकर्ता भेटघाट कार्यक्रममा सोमबार बोल्दै उनले यस्तो प्रवृत्तिले पार्टी कमजोर बनाउने मात्र नभई कार्यकर्ताहरूमा निराशा फैलाएको टिप्पणी गरिन्। "मिडियामा कभरेजको लागि आफ्नै पार्टी र नेताहरूको विरोध गर्ने संस्कारले पार्टीको हितमा हानि पुगेको छ," उनले भनिन्।
मन्त्री राणाले सरकारमै रहेको पार्टीका नेताहरूबाटै सरकारको आलोचना हुने अवस्थाले गलत सन्देश गएको उल्लेख गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई अझ सशक्त बनाउन संगठन बलियो बनाउनु पर्नेमा जोड दिइन्। उनले पार्टीभित्र असन्तुष्टि भए छलफलका माध्यमबाट समाधान खोज्नुपर्ने बताउँदै सार्वजनिक रूपमा भाषणबाजी नगर्न आग्रह गरिन्। महिला सहभागिता र सशक्त भूमिकाका लागि पनि उनले विशेष जोड दिँदै, "म पनि गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेँ भन्ने यहाँलाई थाहा छ," भन्दै महिलालाई दृढतापूर्वक अघि बढ्न प्रेरित गरिन्। साथै, इलामको विकासका लागि आफूले केन्द्रबाट सक्दो पहल गर्ने आश्वासन पनि उनले दिइन्।
कमेन्ट गर्नुहोस्
view comments