कालीगण्डकीमा स्नानपछि टिकटक बनाउने क्रममा महिला बेपत्ता, खोजी कार्य तीव्र
24 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १ गते । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीमा स्नानपछि टिकटक भिडियो बनाउने क्रममा चिप्लिएर नदीमा खसेकी एक महिला बेपत्ता भएकी छन्। पर्वतको महाशिला गाउँपालिका–५ घर भई हाल पोखरामा बसोबास गर्दै आएकी ३५ वर्षीया विष्णु पन्त स्नानपछि फर्किने क्रममा भिडियो खिच्दा अचानक चिप्लिएर नदीमा खसेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले बेपत्ता पन्तको खोजी कार्य तीव्र बनाएको प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिएका छन्। खोजी कार्य बिहादीसम्म फैलिइसकेको छ। विष्णु पन्त आफ्नो दिदी र दुई छोरासहित कालीगण्डकी स्नान गर्न गएकी थिइन् भने उनका परिवारका अन्य सदस्यहरू सकुशल फर्किएको प्रहरीले जनाएको छ। नयाँ वर्ष र वैशाखे सङ्क्रान्तिको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्न भक्तजनको भीड लाग्ने परम्परा रहिआएको छ।
कमेन्ट गर्नुहोस्
view comments