राष्ट्रपतिद्वारा नयाँ वर्षमा सुशासन र समृद्धिको संकल्प गर्न अपिल
2 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विक्रम संवत् २०८२ को शुभारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै समृद्ध राष्ट्र निर्माणका लागि सुशासन प्रवर्द्धन, सेवा चुस्तता र बेथितिको अन्त्य अपरिहार्य भएको बताएका छन्। राष्ट्रको उन्नति र जनताको आकांक्षा पूरा गर्न साझा संकल्प आवश्यक रहेको उल्लेख गर्दै उनले सबै सरोकारवालालाई राष्ट्रिय हितमा एकजुट हुन आह्वान गरेका छन्। शुभकामना सन्देशमा विक्रम संवत्लाई वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् बताउँदै राष्ट्रको गौरवमय इतिहास र सामाजिक सभ्यताको प्रतीकका रूपमा नयाँ वर्षलाई आत्मसात् गर्नुपर्ने कुरामा जोड दिएका छन्।
राष्ट्रपति पौडेलले विगतको समीक्षा र आगामी दिनका लागि सङ्कल्प गर्ने परम्परालाई जीवनपथको दिशानिर्देशक मानेका छन्। उनले पछिल्लो राजनीतिक परिवर्तनपछि जनताको तीव्र अपेक्षा र विकासको चाहना पूरा गर्न सरकार ढिलो गरिरहेकोप्रति सचेत गराउँदै, त्यसले सृजना गरेको भ्रमपूर्ण अवस्थाहरू समयक्रममा निस्तेज हुँदै जाने विश्वास व्यक्त गरेका छन्। कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सूचना प्रविधि र उद्योगलाई अर्थतन्त्रको मेरुदण्ड ठहर गर्दै, ती क्षेत्रमा सुधार ल्याई समृद्ध राष्ट्र निर्माण गर्न सबै नेपालीलाई राष्ट्रप्रति समर्पित भावनाका साथ अघि बढ्न उनले आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments