डोटीको सायलमा चट्याङ प्रहार : एकको मृत्यु, सात घाइते
8 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २८ गते । डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा हिजो राति परेको चट्याङले एक जनाको ज्यान लिएको छ भने सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय ४० वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लाग्दा कमलाका छोराछोरी तारा, अविशेक, अबि र तीन महिनाका शंकर नागरी घाइते भएका छन्। तारा र अविशेकको टाउको जलेको अवस्थामा रहेको जनाइएको छ भने अन्य दुईको टाउकोमा सामान्य चोट लागेको छ।
यसैगरी, नवराज नागरीकी पत्नी तारा नागरी, ८० वर्षीया काली दमाई र भीम नागरीकी छोरी खुशी नागरी पनि घाइते भएका छन्। उनीहरू कसैको हातमा चोट लागेको छ भने कसैको कपाल जलेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूलाई सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचारका लागि पुर्याइएको हो। घटनापछि स्थानीयहरूले पीडित परिवारप्रति समवेदना जनाउँदै राहत र सहयोगको माग गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments