धरान–चतरा सडकमा बस दुर्घटना : ३० जना घाइते, चालक फरार

8 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २८ गते ।  धरान–चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया क्षेत्रमा बुधबार राति ९:३० बजे एक यात्रुबाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन्। भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरू अध्ययन भ्रमण सकेर सिन्धुली हुँदै हेटौंडा फर्किने क्रममा बा.प्र.०६–००१ ख ०२७० नम्बरको बस सडकको मोडमा अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा मकवानपुर, चितवन, रौतहट लगायतका विभिन्न स्थानका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूलाई इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी नायव निरीक्षक रामशरण दुलालको टोलीले उद्धार गरी हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल, र बकैया क्लिनिकमा प्राथमिक उपचार गरिएको छ भने गम्भीर अवस्थाका केहीलाई भरतपुरस्थित नयाँ तथा पुरानो मेडिकल कलेजमा रेफर गरिएको छ।

घाइतेहरूमा भीमफेदी गाउँपालिका सदस्य, वडाध्यक्ष, कृषि र पशु प्राविधिकसहित स्थानीय अगुवा कृषकहरू छन्, जसको हात, खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। ३५ सिट क्षमताको बसमा ३१ जना सवार थिए। घटनापछि बसका चालक फरार रहेका छन् र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?