राप्रपाको 'जय राष्ट्रवाद' नारा साथ बल्खुमा खबरदारी सभा सुरु, सुरक्षाकर्मीको बाक्लो उपस्थिति
9 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘जय राष्ट्रवाद’को नारा दिँदै बागमती प्रदेशस्तरीय खबरदारी सभा काठमाडौंको बल्खु चोकमा सुरु गरेको छ। सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै कार्यक्रमको सुरुआत गरेका हुन्। कार्यक्रममा पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका शीर्ष नेताहरू सहभागी छन्। पार्टी कार्यकर्ता र समर्थकहरू पार्टी र राष्ट्रिय झण्डासहित बाजागाजासहित उपस्थित भएका छन्, भने पञ्चे बाजाले कार्यक्रम स्थल झन्झन उत्साहजनक बनेको छ।
गत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि बल्खु क्षेत्रमा सुरक्षा कडा पारिएको छ। प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने राप्रपाले पनि सम्भावित घुसपैठ नियन्त्रण गर्न स्वयंसेवकहरू खटाएको जनाएको छ। ‘व्यवस्था बदलौँ, अवस्था बदलौँ’ भन्ने नारासहित राप्रपाले भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी सभा आयोजना गरेको हो। कार्यक्रममा नेता राजेन्द्र गुरुङले राष्ट्रवादी गतिविधिप्रति सरकार डराएको भन्दै भृकुटी मण्डपमा कार्यक्रम गर्न नदिएको आरोप लगाए।
कमेन्ट गर्नुहोस्
view comments