नेपाल-थाईल्याण्ड व्यापार प्रवर्द्धनका लागि समझदारी, आर्थिक सहकार्य विस्तार हुने

4 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २० गते ।  नेपाल उद्योग वाणिज्य महासंघ र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी व्यापार प्रवर्द्धन तथा आर्थिक सहकार्य विस्तारका लागि समझदारी भएको छ। बैंककमा दुवै देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा सम्पन्न हस्ताक्षर कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बरका अध्यक्ष सानन अंगुबोल्कुलले समझदारीपत्रमा हस्ताक्षर गरे। महासंघका अनुसार यस सहकार्यले नेपाल-थाईल्याण्डबीच व्यापार तथा लगानी विस्तार गर्दै संरचित रुपरेखा तयार गर्ने लक्ष्य राखेको छ।

द्विपक्षीय व्यापारिक सम्बन्ध सुदृढ बनाउन यो समझदारी महत्वपूर्ण हुने महासंघको विश्वास छ। व्यापार प्रवर्द्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान, औद्योगिक सहकार्य तथा व्यापार मेला र व्यवसायिक फोरममा सहभागिता प्रोत्साहन गर्ने विषयलाई प्राथमिकता दिइएको छ। साथै, विवाद समाधान प्रणाली प्रवर्द्धन, प्राविधिक विशेषज्ञता तथा तालिम आदानप्रदानलाई सशक्त बनाउने विषयसमेत समेटिएको छ। महासंघका अनुसार यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ भने दुवै पक्षले आपसी सहकार्यका नयाँ सम्भावनाहरू पहिचान गर्दै लक्ष्य कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?