सिराहाका सीडीओ बासुदेव दाहाल गृह मन्त्रालय तानिए, कपिलवस्तुका अर्याल नियुक्त
4 महीना पहिले प्रकाशित

काठमाडौं, चैत ८ गते । सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई गृह मन्त्रालय तानेर कपिलवस्तुका सीडीओ विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको छ। गृह मन्त्रालयका अनुसार सिराहामा दलित परिवारलाई उठीबास गराएको विवादको स्वतन्त्र छानबिनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका थिए, जसअनुसार दाहाललाई फिर्ता बोलाइएको हो।
सिराहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नका लागि दीपक मरिक (डोम) को घर भत्काएर परिवारलाई उठीबास गराएको घटनाले चर्को आलोचना खेपिरहेको छ। महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर घर भत्काएको खबर बाहिरिएपछि दोषीमाथि कारबाहीको माग भइरहेको छ।
पीडित दीपककी श्रीमती अनिता मरिकका अनुसार उनीहरूलाई जबरजस्ती घरबाट विस्थापित गरिएको छ, जबकि त्यहाँ महायज्ञको तयारी भइरहेको छ। समाचार बाहिरिएपछि पीडित परिवारलाई गाउँपालिका अध्यक्ष र जनमतका नेताका समर्थकहरूले धम्की दिन थालेको पनि खुलेको छ।
कमेन्ट गर्नुहोस्
view comments