विदेशमा रहेका नेपाली अनौपचारिक राजदूत भएको मन्त्री पाण्डेको भनाइ

1 महीना पहिले प्रकाशित

काठमाडौं, चैत ३ गते ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने प्रत्येक नेपालीले नेपालको अनौपचारिक राजदूतको भूमिका निर्वाह गरिरहेको बताएका छन्। शनिबार साँझ थाइल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएन) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली प्रवासी समुदायले नेपालको पहिचान विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

मन्त्री पाण्डेले एनआरएनले नेपालका संस्कृति, परम्परा, र पर्यटन प्रवर्द्धनमा पुलको भूमिका खेल्नुपर्ने उल्लेख गरे। उनले नेपाललाई विश्वभर चिनाउने प्रयासलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै एनआरएन समुदायले नेपालको सन्देशवाहकको रूपमा सक्रिय रहनु आवश्यक रहेको बताए। संस्कृतिको आदानप्रदानलाई प्रवर्द्धन गर्दै नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई मजबुत बनाउनु पर्नेमा उनले ध्यानाकर्षण गराए।

लोकतान्त्रिक प्रक्रियालाई सुदृढ पार्न विदेशमा रहेका नेपाली समुदायबीच पनि एकता, सहमति, र सुधार आवश्यक रहेको मन्त्री पाण्डेले बताए। उनले प्रतिस्पर्धाभन्दा सहमति र एकतालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै, हालको चुनौतीपूर्ण अवस्थाबाट पार पाउन सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?