राप्रपालाई काठमाडौं महानगरको एक लाख जरिवाना
1 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन २६ गते । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत ¥यालीका क्रममा सार्वजनिक स्थानमा फोहोर तथा भौतिक क्षति पुगेको भन्दै महानगरले उक्त कारबाही गरेको हो।
नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरद्वारा जारी सूचनामा उल्लेख भएअनुसार, ¥यालीका सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानमा सडक, सडकपेटी, आईल्याण्ड र सो क्षेत्रमा रहेका बिरुवा तथा रेलिङ्गमा क्षति पुर्याउनुका साथै जथाभावी फोहोर फालेर वातावरण प्रदूषण गरेका थिए। फोहोरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, र आर्थिक ऐन, २०८१ को प्रावधानअनुसार महानगरले जरिवाना तोकेको हो।
पूर्वराजा शाह आइतबार अपराह्न पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। उनलाई स्वागत गर्न राप्रपाका नेता-कार्यकर्ता सहित समर्थकहरू ¥यालीमा सहभागी भएका थिए। उक्त कार्यक्रमपछि उत्पन्न फोहोर र क्षतिको जिम्मेवारी तोक्दै महानगरले कारबाही गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments