चितवनमा वन्यजन्तु आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु

2 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन २१ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गत साउनदेखि माघसम्म गैँडा, हात्ती र बाघको आक्रमणबाट १० जनाको मृत्यु भएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गैँडाको आक्रमणबाट ८ जना, हात्ती र बाघको आक्रमणबाट १/१ जनाको ज्यान गएको हो। यस आर्थिक वर्षमा जङ्गली जनावरका कारण १४ जना घाइते भएका छन्, जसमा गैँडाको आक्रमणबाट १२ र हात्तीको आक्रमणबाट २ जना घाइते भएका छन्।

निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्दै आएको छ भने घाइतेको उपचारका लागि सरकारी अस्पतालमा २ लाख रुपैयाँसम्मको खर्च बेहोर्ने गरेको छ। अहिलेसम्म ९४ लाख ६१ हजार ९ सय ३१ रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ, जसमा अन्नबाली र घरटहरामा भएको क्षतिपूर्ति पनि समावेश छ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न निकुञ्जले घाँसेमैदान व्यवस्थापन, पानी स्रोतहरूको सुधार लगायतका कार्यहरू गरिरहेको छ। निकुञ्जभित्र वन्यजन्तुको वासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्न सकिने निकुञ्जका सूचना अधिकारी थापामगरले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?