नेपाल-भारतबीच पानी तथा सरसफाइ व्यवस्थापनमा सहकार्यको सम्झौता

2 महीना पहिले प्रकाशित

काठमाडौं , फागुन १९ गते ।  नेपाल र भारतबीच पानी, सरसफाइ तथा फोहोर पानी व्यवस्थापनमा सहकार्य विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न समारोहमा दुवै देशका सम्बन्धित मन्त्रीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार दुवै देशले पानी संरक्षण, सरसफाइ व्यवस्थापन तथा प्राविधिक सहयोग आदान-प्रदानमा सहकार्य गर्नेछन्। भारतका जलशक्ति मन्त्री सीआर पाटिलका अनुसार जल जीवन मिशन र स्वच्छ भारत मिशनका अनुभवहरूले नेपाललाई पनि सरसफाइ तथा पानी व्यवस्थापनका चुनौतीहरू समाधान गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

सम्झौतामा भारतको तर्फबाट जलशक्ति मन्त्री पाटिल तथा नेपालका खानेपानी मन्त्री प्रदीप यादवले हस्ताक्षर गरेका हुन्। समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्मा लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल-भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित गरिएको यो सहकार्यले दुवै देशका नागरिकहरूको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?