भैरहवाकी प्रकृति लम्सालको बुधवार मध्यरातमा अन्त्येष्टि
3 महीना पहिले प्रकाशित

काठमाडौं, फागुन ८ गते । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ् इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा मृत फेला परेकी भैरहवाकी प्रकृति लम्सालको बुधवार मध्यरातमा अन्त्येष्टि गरिएको छ। प्रकृतिको शव भुवनेश्वरबाट गोरखपुर हुँदै भैरहवा ल्याइएको थियो। उनका अभिभावक ढिलो आइपुगेकाले शवलाई केही घण्टा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा राखिएको थियो। त्यसपछि उनको घरमा लगिएको थियो।
घरमा श्रद्धाञ्जलीपछि राति करिब ११ बजे स्वर्गद्वारी घाटमा उनको अन्तिम संस्कार गरिएको थियो, जहाँ मध्यरातमा पनि भैरहवावासीको ठूलो उपस्थिति थियो। २१ वर्षीय प्रकृतिको शवलाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए। अन्त्येष्टिमा उनका परिवार, आफन्त, स्थानीयवासी तथा सहपाठीहरूको बाक्लो उपस्थिति थियो।
प्रकृति लम्साल केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत थिइन्। गत आइतबार साँझ कलेजको छात्रावासमा उनी मृत फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा कलेजकै सहपाठी युवकको यातनाका कारण उनले आत्महत्या गर्न बाध्य भएको खुलेको छ। भारतीय प्रहरीले ती युवकलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। घटनापछि केआइआइटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू पनि असुरक्षाका कारण स्वदेश फर्किरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments